12 posts · Essay

सार्की दाइ

गाउँको साँघुरो गल्ली हुँदै हिँड्दा एउटा सानो टहरोबाट टकटक गरेर हतौडाले ठोकिएको आवाज सुनिन्छ। त्यही आवाजसँगै देखिनुहुन्छ , सार्की दाइ। उहाँका हातमा लागेका मेहनतका डामहरू समयका कथा हुन्। उहाँले छालामा सुई चलाउँदा केवल जुत्ता मात्र सिउनुहुन्न, जीवनका टुक्राटुक्रा आशाहरू पनि गाँसिरहनुभएको हुन्छ।उहाँको पसल सानो होला, तर मन विशाल छ। गरिबको च्यातिएको जुत्ता पनि मुस्कानसहित सिलाइदिनुहुन्छ। उहाँको निधारमा पसिनाका थोपा टल्किरहँदा लाग्छ, मानौँ श्रम नै उहाँको गहना हो। समाजले कहिलेकाहीँ उहाँको जातलाई हेरेर मूल्याङ्कन गर्न खोजे पनि उहाँको आत्मसम्मान कहिल्यै झुकेको देखिँदैन। उहाँको मौन संघर्षले श्रमको महत्त्व र मानवताको सच्चा अर्थ सिकाउँछ।सार्की दाइ केवल एउटा पात्र होइन, उहाँ मेहनत, धैर्य र आत्मविश्वासको जीवित प्रतिमूर्ति हुनुहुन्छ। उहाँका सिउनीले जुत्ताका चिरा मात्र होइन, समाजमा रहेको विभेदका दरारहरू पनि जोड्न खोजिरहेका हुन्छन्। श्रमलाई सम्मान गर्ने समाज नै सभ्य समाज हो भन्ने सन्देश उहाँको जीवनले दिन्छ। त्यसैले सार्की दाइप्रति सम्मान व्यक्त गर्नु भनेको श्रमप्रति सम्मान गर्नु हो .